अनि चुनाव लड्ने घोषणा भयो


बलिउड फिल्म ‘लगे रहो मुन्ना भाई’मा दिनभर हप्ता असुली गर्ने मुन्ना भाई साँझ परेपछि रेडियोमा बसेर ‘गाँधीगिरी’को उपदेश छाँट्छन् । हिन्दी फिल्मको चर्चित संवाद नै छ–“३० साल तक डाँका डाला, अब रिटायर्ड होकर देशभक्ति की बातें करने चला है ।” फिल्ममा यो दृश्य हेरेर हामी पेट मिचीमिची हाँस्छौं, तर यही फिल्म जब हाम्रो वास्तविक जीवनमा, हाम्रै गाउँघर र समाजमा दिनहुँ चल्न थाल्छ, अनि हाँसो होइन, उदेक लाग्छ ।

मान्छे साह्रै अनौठो प्राणी हो । आफूले गरेको गलती गलती नै होइन, ‘समयको माग’ वा ‘स्मार्ट व्यवहार’ हो, तर त्यही काम अरूले गरोस्–तुरुन्तै नयाँ नाम फुर्छ– ‘भ्रष्टाचार’ ।

आफूले सुटुक्क खल्तीमा हाले ‘चियाखर्च’, अरूले हाले ‘घूस’ । आफूले चोरबाटोबाट काम फुत्काए ‘सम्बन्ध’, अरूले गरे ‘धाँधली’ । आफूले रातारात तीनतले महल ठड्याए ‘मेहनतको फल’, अरूले बनाए ‘यसले कहाँबाट लुट्यो ?’–यही हो हाम्रो समाजको सदाबहार र रोचक रोग ।

आजको यो कथाका नायक पनि बलिउडका तिनै ‘भिलेन’ जस्तै हुन्, जसले इन्टरभलसम्म डकैती गरे र क्लाइमेक्समा सोझा हिरो बनेर देश बचाउन निस्किएका छन् ।

उनी को हुन् ? खासै फरक पर्दैन । हाम्रै समाजभित्रका कोही हुन सक्छन् । उनी टेबलमुनिबाट हात छिराउने हाकिम हुन सक्छन्, कमिशनको बिलमा पुलको लम्बाइ बढाउने ठेकेदार हुन सक्छन् वा पुर्खौंदेखि राजनीतिलाई ‘पारिवारिक बिजनेस’ बनाउँदै आएका नयाँ पुस्ताका सुटकेसधारी नेता हुन सक्छन् । सार यति हो–उनले जीवनकालमा सेवाभन्दा आफ्नो फाइदाको खोजीमा अकुत कमाए ।

यदि सरकारी सेवामा थिए भने फाइल भारी नभएसम्म उनको टेबल पार हुँदैनथ्यो । यदि ठेकेदार थिए भने पुल ढलोस् कि नढलोस्, उनको बिल र कमिशन कहिल्यै ढल्दैनथ्यो । सडक र पुलमा सिमेन्टभन्दा बढी बालुवा हालियो, तर बिलमा भने मोटो डन्डी ठोकियो । नतीजा, सडक र पुल त पहिलो झरीमैं बगेर गयो, तर ठेकेदारको घर, बैंक खाता र समाजमा इज्जत झन्झन् बलियो हुँदै गयो । अनि त्यही बगेको पुलको कमाइले छोराछोरी विदेशी विश्वविद्यालयमा उच्च शिक्षा हासिल गरे ।

बुबा छाती फुलाएर दुःखको कथा सुनाउँथे, तर त्यो दुःखको नक्शा कहिल्यै देखाउँदैनथे । इमानदारीको पसिनाले बनाएको सानो झोपडी र बेइमानीले ठड्याएकोे महलको बाहिरी नक्शा एउटै देखिए पनि भित्री कथा बिलकुलै फरक हुन्छ । तर महलको मार्बल र सीसाले विगतको दुगन्र्धलाई ढपक्क छोपिदिन्छ । अनि समाजले पनि भन्छ–कति सफल मान्छे । कसैले सोध्दैन–यो घर इमानको जगमा उभिएको छ कि घूसको ढड्डीले ?

उमेर ढल्यो, कपाल फुल्यो, हातको काँप बढ्यो । अब फुर्सदै–फुर्सद भएपछि कथाका नायकलाई एउटा नयाँ भूतले समात्यो–‘ज्ञानवद्र्धक प्रवचन’ र ‘समाजसेवा’ ।

हिजोसम्म जसले जनताको छाला काढ्यो, उसैलाई अब चियापसलमा बसेर नयाँ पुस्तालाई नैतिकताको पाठ पढाउन मन लाग्यो । हिजोसम्म जागीर वा ठेक्कामा स्वार्थको रोटी सेकेको मान्छेलाई अब अचानक निस्स्वार्थ ‘देशसेवा’को भूत चढ्यो । चुनाव लड्ने घोषणा भयो, घोषणापत्र तयार भयो–भ्रष्टाचारमा शून्य सहनशीलता, सुशासन र नयाँ संस्कार र अनि सबैभन्दा ठूलो ढाँट–म पैसा कमाउन होइन, जनताको सेवा गर्न आएको हुँ !

सक्कली कुरा त के हो भने, पैसा कमाउने काम त उनले पहिले नै ‘ओभरटाइम’ गरेर भ्याइसकेका थिए, अब त केवल ब्रान्डिङ बाँकी थियो ।

हाम्रो समाजमा यस्ता ‘सन्त’हरूको अकाल कहिल्यै भएन । हिजो टेबलमुनिबाट घूस लिने मान्छे आज सुशासनको अभियन्ता बन्छ । हिजो कमिशन खाएर सडक खाल्डो बनाउने ठेकेदार आज ‘विकासको मसिहा’ बन्छ । हिजो बुबाको पहुँचमा महँगा विद्यालय र पद फुत्काउने ‘नेपो–किड’ आज ‘युवा परिवर्तन’को भाषण छाँट्छ ।

यी सबैमा एउटा कुरा खूब समान हुन्छ–विगत सबैको हुन्छ, तर सम्झिने हिम्मत कसैको हुँदैन । उनीहरू मुस्कुराउँदै भन्छन्–पुराना कुरा छाडौं । तर बेइमानीको पैसाले किनेको शहरको जग्गा, त्यो कालो धनले ठड्याएको महल र पुरानो पापको हिसाब छाड्ने कि नछाड्ने ? त्यसको उत्तर कसैसँग छैन ।

पौराणिक धार्मिक ग्रन्थहरूमा एउटा बडो रोचक प्रसङ्ग आउँछ । जब–जब असुर वा राक्षसहरूले हजारौं वर्षसम्म अत्याचार गर्थे, सोझा जनताको बस्ती जलाउँथे, अनि जब उनीहरूको उमेर ढल्किन्थ्यो वा सत्ता र वरदान खोसिने डर हुन्थ्यो, उनीहरू सरासर हिमालयतिर लागेर जटा बढाउँथे, निधारमा भस्म घस्थे र ब्रह्माको कठोर तपस्या गर्न थाल्थे । रावण स्वयम् वेदका प्रकाण्ड विद्वान् थिए, तर उनको कर्म भने लोक लुट्ने नै थियो । असुरहरूले तपस्या गर्नुको उद्देश्य कहिल्यै आत्माको शुद्धि थिएन, केवल अझ ठूलो वरदान र अमरता फुत्काउनु मात्र हुन्थ्यो ।

आजका कथाका नायक पनि तिनै पौराणिक असुरहरूका आधुनिक अवतार हुन् । जीवनभर भ्रष्टाचार र लुटपाटको राक्षसी कर्म गरे । अनि जब जीवनको उत्तराद्र्ध आयो, दलको झन्डा ओढेर, गलामा खादा–माला पहिरेर, चुनावको मञ्चमा उभिएर ‘सन्त र सुधारक’को तपस्या गर्न थालेका छन् ।

तर रावणले जतिसुकै मन्त्र घोके पनि वा असुरहरूले जतिसुकै भस्म घसे पनि, कर्मको हिसाबकिताब पखाल्न सकिंदैन । त्यसैले राजनीतिमा आउनु अघि र देशसेवाको मन्त्र जप्नु अघि यस्ता आधुनिक सन्तहरूले ऐना अगाडि उभिएर आफूले आफैंलाई यो प्रश्न सोध्नैपर्छ– विगतका हिसाब नबुझाइ, केवल माला र भाषणको भस्म घस्दैमा मेरो पाप पखालिएला ?

गङ्कामा डुबुल्की मार्दैमा वा चुनावको टिकट पाउँदैमा इतिहास पखालिंदैन । सपना देश बनाउने देख्नु राम्रो हो, तर जनताले मञ्चतिर औंला उठाउँदै आज सोधिरहेका छन्–“उम्मेदवारज्यू, देश बनाउने सन्त बन्नु अघि, आफ्नो विगतको असुर–हिसाब बुझाउनुभयो ?”

राजेश मिश्र

लेखक | पत्रकार | कथाकार

म २२ वर्षदेखि पत्रकारितामा छु। प्रतीक दैनिकमा लेख्छु र गोरखापत्रमा भोजपुरी भाषाका लेख लेख्छु। यहाँ मेरा कथा, विचार र अनुभव बाँड्छु।