![]() |
| प्रतीकात्मक तस्विर। |
कहिलेकाहीँ जीवनमा केही घटना यस्ता हुन्छन्, जसको मिति बिर्सिन्छ, समय बिर्सिन्छ, कतिपय विवरण पनि धमिलो हुँदै जान्छन्, तर त्यो घटना भने स्मृतिबाट कहिल्यै मेटिँदैन।
पत्रकारितामा मेरो पहिलो समाचार पनि त्यस्तै एउटा घटना हो।
विसं २०५९/२०६० तिरको कुरा हो। म वीरगंज रिपोर्ट दैनिकमा पोखरिया संवाददाताका रूपमा पत्रकारिता शुरु गर्दै थिएँ। विजय कुशवाहा र ध्रुव साह मिलेर शुरु गरेको त्यो पत्रिकाका सम्पादक तत्कालीन रेडियो नेपालका ध्रुव अधिकारी हुनुहुन्थ्यो। पत्रकारिताको क्षेत्रमा मेरो यात्रा त्यहीँबाट औपचारिक रूपमा शुरु भयो।
आज यति वर्षपछि फर्केर हेर्दा लाग्छ, त्यो बेला मसँग पत्रकारिताको धेरै अनुभव थिएन। समाचार कसरी खोज्ने, स्रोतसँग कसरी कुरा गर्ने, घटनास्थलमा पुगेर के–के बुझ्ने, समाचारलाई कसरी पुष्टि गर्ने—यी सबै कुरा सिक्दै गरेको समय थियो। तर सिकाइ किताबबाट मात्रै हुँदैन रहेछ। कहिलेकाहीँ एउटा घटनाले नै पत्रकारिताको पहिलो पाठ पढाउँदो रहेछ।
त्यो समय माओवादी द्वन्द्वको उत्तरार्ध थियो। पर्साका ग्रामीण क्षेत्रमा राज्यको सुरक्षा उपस्थिति निकै कमजोर थियो। वीरगंजबाहेक जिल्लामा प्रहरी प्रशासनको नियमित उपस्थिति देख्न मुस्किल थियो। ग्रामीण क्षेत्रमा माओवादीको त्रास त थियो नै, त्यससँगै माओवादीको नाम वा आवरण प्रयोग गरेर चोरी, डकैती र लुटपाट गर्ने समूहको आतंक पनि कम थिएन। ग्रामीण बस्तीका मानिसका लागि रात मात्रै होइन, दिन पनि सुरक्षाको चिन्तासँग जोडिएको थियो।
त्यही समय पोखरियामा सुरक्षा संयन्त्रको बेस क्याम्प स्थापना गर्ने निर्णय भएको थियो। नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त टोली पोखरियामा बेस क्याम्प स्थापना गर्न त्यसतर्फ जाँदै थियो। पोखरिया बजारभन्दा पश्चिमतर्फ रहेको विद्युत् प्राधिकरणको प्राङ्गणमा त्यही दिनदेखि सुरक्षा टोलीको बेस क्याम्प बस्ने तय भएको थियो।
ग्रामीण क्षेत्रमा लामो समयपछि सुरक्षा निकायको उपस्थिति देखिन लागेको थियो। त्यसैले मानिसहरू निकै खुसी थिए। उनीहरूका लागि त्यो केवल सुरक्षा क्याम्प स्थापना हुनु मात्र थिएन, गाउँमा फेरि राज्यको उपस्थिति फर्किन लागेको सङ्केत पनि थियो। वर्षौंदेखि त्रासमा रहेका मानिसहरूलाई यसले केही राहत र भरोसा दिएको थियो।
तर विडम्बना कस्तो भयो भने, पोखरियामा सुरक्षा बेस क्याम्प बस्ने त्यही दिन मेरो पत्रकारिताको पहिलो समाचार जन्मियो।
मैले समाचार तयार गरेँ र ल्यान्डलाइन टेलिफोनमार्फत वीरगंज रिपोर्ट दैनिकमा नोट गराएँ । सायद त्यही क्षण थियो, जब मैले आफूलाई पहिलोपटक साँच्चिकै पत्रकार महसुस गरेको थिएँ।
घटना गर्मीयामको थियो। दिउँसोको समय। नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त टोली पोखरिया जाँदै थियो। उनीहरूलाई सायद थाहा थिएन, पोखरियामा पुगेर नयाँ सुरक्षा अध्याय शुरु गर्नुअघि नै बाटोमा एउटा घटना उनीहरूको प्रतीक्षामा थियो।
तत्कालीन बहुअर्वा भाठा गाविसको गर्दौलमा एक धान खरिद गर्ने व्यवसायिक पसल थियो। स्थानीय भाषामा धान खरिद केन्द्रलाई ‘गोला’ भनिन्थ्यो। त्यही गोलामा लुटपाट भएको रहेछ।
लुटेराहरू मोटरसाइकलमा आएका थिए। उनीहरूले व्यापारीलाई पेस्तोल देखाएर तर्साए। त्यसपछि पसलको पेटी, अर्थात् पैसा राख्ने बाकस, लिएर मोटरसाइकलमै भागे।
घटना भएको केही समयपछि सुरक्षा टोली त्यही बाटो हुँदै पोखरिया जाँदै थियो। लामो समयपछि गाउँलेहरूले एकैपटक नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त टोली देखिरहेका थिए। सुरक्षा टोलीलाई देख्नेबित्तिकै पीडितहरूले उनीहरूलाई बाटोमै रोकेर केहीबेरअघि भएको लुटपाटबारे जानकारी दिए।
त्यसको खबर पोखरियासम्म आइपुग्यो र मलाई पनि घटनाबारे जानकारी भयो। मेरो लागि त्यो सामान्य सूचना थिएन। पत्रकारिताको सुरुआती दिनमा आएको त्यो घटना नै मेरो पहिलो समाचार बन्न पुग्यो।
म घटनास्थलतर्फ गएँ। त्यतिबेला पत्रकारिता मेरो लागि नयाँ थियो, तर समाचारको खोजीमा घटनास्थल पुग्नुपर्छ भन्ने सामान्य पत्रकारिता चेत भने भइसकेको थियो। घटनास्थलमा पुगेर मैले उपलब्ध जानकारी लिएँ। कसको पसलमा के भयो, कसरी भयो, लुटेराहरू कति जना थिए, कसरी आए, के लिएर गए—घटनासँग सम्बन्धित विवरण बुझ्ने प्रयास गरेँ।
त्यसपछि म पोखरिया पुगेँ। त्यहाँ सुरक्षा टोलीसँग घटनाबारे जानकारी लिएँ। प्रहरीसँग कुरा गरेपछि घटनाको थप पुष्टि भयो। त्यसबेला समाचार लेखेर डिजिटल माध्यमबाट पठाउने सुविधा थिएन। मोबाइलमा टाइप गरेर केही सेकेन्डमै सम्पादकको इमेल वा व्हाट्सएप ग्रुपमा पठाउने सुविधा त झन् कल्पनाबाहिरको कुरा थियो।
मैले समाचार तयार गरेँ र ल्यान्डलाइन टेलिफोनमार्फत वीरगंज रिपोर्ट दैनिकमा नोट गराएँ । सायद त्यही क्षण थियो, जब मैले आफूलाई पहिलोपटक साँच्चिकै पत्रकार महसुस गरेको थिएँ।
आज सम्झँदा त्यो समाचार ठूलो राष्ट्रिय घटना थिएन। कुनै मन्त्रीको वक्तव्य थिएन, कुनै राजनीतिक दलको बैठक थिएन, कुनै ठूलो सरकारी निर्णय थिएन। ग्रामीण पर्साको एक धान खरिद केन्द्रमा भएको लुटपाट थियो। तर मेरो लागि त्यो घटना सामान्य थिएन। त्यो मेरो पत्रकारिताको पहिलो पाइला थियो।
त्यो समाचारसँग जोडिएको उत्साह भने अझै सम्झन्छु। आफ्नो नामसँगै समाचार छापिएको देख्नुको अनुभूति कस्तो हुन्छ भन्ने कुरा पत्रकारितामा प्रवेश गर्नेहरूले मात्रै राम्ररी बुझ्न सक्छन्।
त्यतिबेला समाचार फाइलमा राखिन्थ्यो। आजजस्तो कम्प्युटरमा फोल्डर बनाएर राख्ने, इमेलको फोल्डर खोल्ने, वेबसाइटमा पुरानो समाचार खोज्ने वा सामाजिक सञ्जालको स्मृति हेर्ने सुविधा थिएन। आफूले सम्प्रेषण गरेका समाचारका कागजी फाइलहरू जोगाएर राखिन्थे।
मैले पनि पत्रकारिताको सुरुआती समयका समाचारहरू सुरक्षित राखेको थिएँ। तर समयसँगै घरका सामानहरू यताउता भए। फाइल पनि कतै हरायो। खोज्दा भेटिएन।
कहिलेकाहीँ लाग्छ, त्यो फाइल भेटिएको भए आज मेरो हातमा पत्रकारिताको इतिहासको एउटा सानो तर अमूल्य दस्तावेज हुने थियो। त्यसमा मेरो पहिलो समाचार हुन्थ्यो। मेरो पत्रकारिताको पहिलो अक्षर हुन्थ्यो। त्यो समयको पर्साको ग्रामीण तस्बिर हुन्थ्यो। द्वन्द्वको छायामा बाँचिरहेको ग्रामीण समाजको एउटा सानो कथा हुन्थ्यो।
तर कागज हराउँदैमा सम्झना हराउँदो रहेनछ।
आज पनि आँखाअगाडि त्यही गर्मीको दिउँसो आउँछ। पोखरियातर्फ जाँदै गरेको सुरक्षा निकायको संयुक्त टोली सम्झन्छु। गर्दौलको त्यो गोला सम्झन्छु। पेस्तोल देखाएर व्यापारीलाई तर्साइएको त्यो घटना सम्झन्छु। सुरक्षा टोलीलाई बाटोमै रोकेर घटना सुनाउँदै गरेका मानिसहरू सम्झन्छु। अनि ती सबै दृश्यलाई समाचार बनाउन दौडिरहेको आफूलाई सम्झन्छु।
त्यो दिन पोखरियामा सुरक्षा बेस क्याम्प स्थापना भयो। गाउँलेहरूले राहतको सास फेरे। मेरो भने पत्रकारिताको नयाँ यात्रा शुरु भयो। त्यो दिन म केवल एउटा घटनाको समाचार लेखिरहेको थिइनँ। सायद अनजानमै आफ्नो जीवनको बाटो पनि लेखिरहेको थिएँ।
आज पत्रकारिताको यात्रामा दुई दशकभन्दा बढी समय बितिसक्दा पछाडि फर्केर हेर्छु। धेरै समाचार आए, धेरै समाचार गए। कतिपय समाचारका कागज सुरक्षित छन्, कतिपय डिजिटल अभिलेखमा छन्। कतिपय समाचारको शीर्षकसमेत सम्झना छैन। तर पहिलो समाचारको कुरा आउँदा एउटा अनौठो आत्मीयता जाग्छ।
किनभने पहिलो समाचार केवल समाचार हुँदैन रहेछ।
त्यो आफ्नो पेशासँग पहिलो भेट हुन्छ। आफ्नो आवाजलाई पहिलोपटक सार्वजनिक बनाउने क्षण हुन्छ। आफूले देखेको घटनालाई अरू मानिससम्म पुर्याउने पहिलो जिम्मेवारी हुन्छ।
मेरो पहिलो समाचारको कागज अहिले मसँग छैन। त्यो फाइल कहाँ हरायो, थाहा छैन। तर मेरो पत्रकारिताको स्मृतिमा त्यो समाचार अझै सुरक्षित छ।
गर्दौलको त्यो गर्मीको दिउँसो, पोखरियातर्फ जाँदै गरेको सुरक्षा टोली र ल्यान्डलाइन टेलिफोनमार्फत वीरगंज रिपोर्ट दैनिकमा नोट गराएको त्यो पहिलो समाचार—यी सबै मेरो पत्रकारिताको यात्राका त्यस्ता पाना हुन्, जसलाई समयले धमिल्याउन सकेको छैन।
कागज हरायो, फाइल हरायो, समय धेरै अगाडि बढ्यो। तर मेरो पत्रकारिताको पहिलो समाचार अझै मसँगै छ।
