उनको निष्कर्ष निकै स्पष्ट थियो–“लेख लेख्ने काम सामान्य मानिसका लागि होइन । दाइ, तपाईं लेख्न सक्नुहुन्न ।”
वीरगंज, पर्सा /कहिलेकाहीं जीवनमा कुनै घटना ठूलो आवाजसहित आउँदैन। न बाजा बज्छ, न कसैले घोषणा गर्छ, न आफूलाई नै थाहा हुन्छ–अब जीवनको अर्को अध्याय शुरू भयो भनेर। कुनै बेला उच्चारण भएको एक छोटो वाक्य, कुनै गाउँको बाटोमा भेटिएको सामान्य मानिस, कुनै पत्रिकाको पाना वा सम्पादकका एक शब्द–यिनै साना कुराहरूले पछि फर्केर हेर्दा जीवनको सबैभन्दा ठूलो मोडको आकार लिएका हुन्छन्।
मेरो लेखकीय यात्राको त्यो त्यस्तै मोड थियो–प्रतीक दैनिकको कार्यालयमा प्रधानसम्पादक जगदीशप्रसाद शर्मा अङ्कलले सहजरूपमा भन्नुभएको एक शब्द–“लेख।” त्यस बेला त्यो शब्द कति महत्त्वपूर्ण थियो भन्ने मलाई थाहा थिएन। आज पछाडि फर्केर हेर्दा लाग्छ, उहाँले मलाई लेख लेख्न मात्र भन्नुभएको रहेनछ, वर्षौंदेखि मनको कुनामा थन्किएको सम्भावनालाई बाहिर निकालेर त्यसलाई बाटो देखाइदिनुभएको रहेछ।
"त्यो वाक्य सुनेपछि म केहीबेर हतप्रभ भएँ। मनमा अनेक प्रश्न बोकेर त्यहाँबाट निस्किएँ।"
५० को दशकको अन्त्यतिर मैले आफ्नै जन्मथलो पोखरियाबाट पत्रकारिता शुरू गरेको थिएँ। गाउँको बाटो, स्थानीय मानिस, सानातिना घटना, सामाजिक गतिविधि र त्यहाँका दुःख–सुखसँगै पत्रकारिताको अक्षर चिन्न थालेको थिएँ। त्यसपछि पत्रकारिताले अनेक आरोह–अवरोह देखायो। समयसँगै ठाउँ फेरिए, जिम्मेवारी फेरिए, कामको प्रकृति फेरिए।
वीरगंजकै अर्को सञ्चारगृहमा सम्पादकीय तहमा काम गर्ने अवसर पनि पाएँ। समाचार लेख्ने, सम्पादकीय लेख्ने, सम्पादन गर्ने, अरूले लेखेका सामग्री पढ्ने र भाषालाई मिलाउने काम पत्रकारिताकै नियमित हिस्सा बनिसकेको थियो।
तर पत्रकारितामा
काम गरिरहेको भएपनि मनको एक कुनामा छुट्टै
चाहना भने बाँकी नै थियो–पर्साको
पत्रकारितामा छुट्टै पहिचान बनाएको प्रतीक दैनिकसँग कुनै दिन लेखकका रूपमा जोडिन पाए हुन्थ्यो। त्यो चाहना
कसैसँग सुनाएर हिंडेको महत्त्वाकाङ्क्षा थिएन। बरु वर्षौंदेखि
मनभित्र हुर्किरहेको रहर थियो।
प्रतीक दैनिक मजस्ता पत्रकारका लागि पत्रिका मात्र थिएन। त्यसका पानामा प्रकाशित लेखहरू पढ्दा कहिलेकाहीं म आफैंसँग प्रश्न गर्थें–यी मानिसहरू यतिधेरै कसरी लेख्छन्? कुनै विषयलाई यति फराकिलो बनाएर कसरी हेर्छन्? सामान्य घटनाभित्र यति धेरै अर्थ कसरी भेट्छन्? अनि अर्को प्रश्न पनि आउँथ्यो–म पनि यसरी लेख्न सक्छु कि सक्दिनँ? त्यो प्रश्नमा हीनताबोधभन्दा जिज्ञासा बढी थियो। आफूले समाचार लेख्न सक्छु भन्ने आत्मविश्वास थियो, तर समाचार र लेखनबीचको दूरी पनि बुझेको थिएँ।
समाचारमा घटना,
तथ्य र सूचना अगाडि
हुन्छन्। लेखमा ती
कुरासँगै दृष्टिकोण, भाषा, अनुभूति र प्रस्तुति पनि
चाहिन्छ। त्यसैले अरूका
लेख पढ्दा म केवल पाठक
भएर पढ्दिनथें, कतै न कतै आफूलाई
लेखकको ठाउँमा राखेर पनि हेर्थें। तर त्यो
ठाउँसम्म पुग्ने बाटो कहाँबाट शुरू हुन्छ भन्ने थाहा थिएन।
झन्डै
एक दशक अघि वीरगंजकै एक सञ्चारगृहमा पुगेको
त्यो प्रसङ्ग अहिले पनि सम्झनामा आउँछ। त्यस सञ्चारगृहका
मालिक तथा सम्पादक मभन्दा जुनियर, भाइजस्तै आत्मीय व्यक्ति थिए। हामी एकअर्कालाई
राम्ररी चिन्थ्यौं। त्यहाँ मेरा
एकजना समकक्षी व्यवस्थापनको जिम्मेवारीमा थिए। त्यही परिचय
र आत्मीयताका कारण म त्यहाँ पुगेको
थिएँ। धेरैबेरको कुराकानीपछि
मैले आफू आउनुको उद्देश्य खुलाउँदै सहजै भनें–“लेख चाहियो भने भन्नुहोस्, म लेख्छु।”
मेरो
यो प्रस्तावपछि उनले लेखनबारे अनेक कुरा सुनाए। अन्ततः उनको
निष्कर्ष निकै स्पष्ट थियो–“लेख लेख्ने काम सामान्य मानिसका लागि होइन। दाइ, तपाईं
लेख्न सक्नुहुन्न।”
त्यो
वाक्य सुनेपछि म केहीबेर हतप्रभ
भएँ। मनमा अनेक
प्रश्न बोकेर त्यहाँबाट निस्किएँ। तर समय
अचम्मको हुँदोरहेछ। केही समयपछि
उनैले मेरो बारेमा अरू कसैसँग कुरा गर्दै भनेका रहेछन्–“फलाना त राम्रो लेख्छ।” त्यो कुरा जब अरूबाट मेरो
कानसम्म आइपुग्यो, मलाई अचम्मभन्दा बढी समयको शक्ति महसूस भयो। कहिलेकाहीं मानिसले
आज उच्चारण गरेको वाक्यको अर्थ समयले भोलि आफैं बदलिदिन्छ। क्रमसः
(आगामी भाग २ मा : “तपाईं लेख्न सक्नुहुन्न” भन्ने त्यो वाक्य मनमा गुञ्जिरहेकै बेला एक साँझ प्रतीक दैनिकको कार्यालयमा के भयो ? प्रधानसम्पादक जगदीश अङ्कलको त्यो एक शब्द “लेख” पछि कसरी शुरू भयो लेखकिय यात्रा? ७९ वर्षीय भोज मियाँको कथा? र लेख तयार भएपछि कुन अनौठो चुनौती र प्रतीक्षाको सामना गर्नुप-यो ? प्रतीक दैनिकसँगको मेरो लेखकीय यात्राको रोमाञ्चक अध्याय “भाग–२” मा पढ्नुहोस्)
