सेवा विस्तारको वास्तविक अर्थ तब हुन्छ, जब अस्पतालको ढोकामा पुगेको बिरामीले सेवा पाउन जनशक्ति, औषधी वा उपकरणको अभावका कारण फर्किनु न परोस् ।
वीरगंजस्थित नारायणी अस्पतालमा सेवा विस्तार भइरहेको छ । नयाँ–नयाँ विशेषज्ञ सेवा थपिएका छन् । महँगा स्वास्थ्य उपकरण भित्रिएका छन् । स्वास्थ्य बीमाले उपचारको पहुँच बढाएको छ । अस्पतालप्रति सर्वसाधारणको भरोसा पनि बढिरहेको छ । तर अस्पतालको सेवा विस्तार हुँदै जाँदा त्यसलाई धान्ने क्षमता किन विस्तार हुन सकेन ?सेवा थपिन्छ, बिरामी थपिन्छन्, उपकरण थपिन्छन्, जिम्मेवारी थपिन्छ । तर जनशक्ति, शय्या, भौतिक पूर्वाधार, औषधि र उपकरण सञ्चालनका लागि आवश्यक प्राविधिक क्षमता भने वर्षौं पुरानै संरचनामा सीमित रहन्छ भने त्यसलाई सेवा विस्तार भन्ने कि समस्या विस्तार ?
नारायणी अस्पताल केवल पर्साको अस्पताल होइन । पर्सासँगै बारा, रौतहट, सर्लाहीलगायत मधेस प्रदेशका विभिन्न जिल्लाबाट बिरामी यहाँ आइपुग्छन् । सीमापारिका भारतीय क्षेत्रबाट समेत उपचारका लागि बिरामीहरू आउने गरेका छन् । सरकारी अस्पताल भएकाले न्यून खर्चमा उपचारको आशा बोकेर आउने नागरिकका लागि यो अस्पताल महत्त्वपूर्ण भरोसाको केन्द्र हो ।
तर, अस्पतालमा दैनिक आउने बिरामीको चाप र अस्पतालको क्षमता हेर्दा प्रश्नहरू स्वाभाविकरूपमा उठ्छन् । दैनिक सयौं बिरामी उपचारका लागि आउने अवस्थामा के अस्पतालको संरचना त्यसलाई धान्न पर्याप्त छ ? जनरल मेडिसिनमा मात्रै बिरामीको अत्यधिक चाप भएपछि स्वास्थ्य बीमामार्फत उपचार गर्ने बिरामीको दैनिक कोटा तीन सय पच्चीस जनामा सीमित गर्नुपर्ने अवस्था किन आयो ?
उपचार पाउन अस्पताल आएको नागरिकलाई ‘आजको कोटा सकियो’ भनेर फर्काइदिनुपर्ने अवस्था स्वास्थ्य सेवाको पहुँच विस्तार हो कि सेवा पहुँचमाथि नयाँ अवरोध ?
अझ टाढाबाट आएका बिरामी, वृद्धवृद्धा, दीर्घरोगी वा नियमित उपचार आवश्यक पर्ने व्यक्ति कोटा सकिएकै कारण उपचारबाट वञ्चित हुनुपर्छ । स्वास्थ्य बीमाको मूल उद्देश्य नै नागरिकलाई आर्थिक कारणले उपचारबाट वञ्चित हुन नदिनु हो भने बीमितको शय्या बढेसँगै अस्पतालको क्षमता पनि बढाउनुपर्ने होइन र ?
नारायणी अस्पतालमा अहिले ३२८ वटा शय्या सञ्चालनमा छ । तर अस्पतालको स्वीकृत जनशक्ति संरचना वर्षौं पुरानो दरबन्दीमैं आधारित रहेको बताइन्छ । यदि २०५४ सालको दरबन्दीले आजको बिरामीको चाप धान्नुपर्ने अवस्था आउँछ भने त्यो दरबन्दी पुनरवलोकन गर्ने जिम्मेवारी बोकेका निकायको हेल्चेक्रयाइँ हो ।
तीन दशकमा जनसङ्ख्या बढ्यो । रोगको स्वरूप बदलियो । उपचार प्रविधि बदलियो । स्वास्थ्य बीमा आयो । नयाँ विशेषज्ञ सेवा थपिए । बिरामीको भौगोलिक दायरा विस्तार भयो । तर जनशक्तिको संरचना भने पुरानै रहने हो भने अस्पताललाई आधुनिक बनाउने दाबी कति व्यावहारिक होला ?
नयाँ सेवा स्वीकृत गर्ने निकायले त्यस सेवाका लागि आवश्यक चिकित्सक, नर्स, प्राविधिक र सहयोगी जनशक्तिको व्यवस्था किन सँगसँगै गर्दैन ? सेवा शुरू गर्न अनुमति दिने तर सेवा सञ्चालन गर्ने जनशक्ति नदिने प्रणालीको जवाफदेही कसमा ? बीमा बढ्यो, अस्पतालको क्षमता बढ्यो ? स्वास्थ्य बीमाले नागरिकलाई अस्पतालसम्म ल्यायो । तर अस्पतालको क्षमता त्यसै अनुपातमा बढेन भने बीमा कार्यक्रम आफैं अस्पतालका लागि अतिरिक्त भार बन्न सक्छ ।
बीमितको सङ्ख्या बढ्दै जाने, उपचारका लागि आउने बिरामी बढ्दै जाने, तर अस्पतालको जनशक्ति र शय्या उही रहने हो भने यसको परिणाम के हुन्छ ? लामो लाइन, घण्टौंको प्रतीक्षास चिकित्सकमाथि अत्यधिक कामको दबाब । शय्याको अभाव । औषधिको अभाव र अन्ततः उपचार नपाएर अर्को ठाउँमा जानुपर्ने बाध्यता । त्यसो भए प्रश्न स्वास्थ्य बीमा बोर्डतर्फ पनि उठ्छ—कुन अस्पतालले कति बिरामीको भार धान्न सक्छ भन्ने क्षमता मूल्याङ्कन नगरी बीमितको उपचार भार तोकिएको हो कि क्षमताका आधारमा ?
अस्पतालले पाउनुपर्ने बीमा रकम समयमा भुक्तानी नहुने हो भने त्यसको असर अस्पतालको सेवा व्यवस्थापनमा पर्नु स्वाभाविक हो । तर बक्यौता भुक्तानीमा ढिलाइ हुँदा त्यसको प्रत्यक्ष मार बिरामीले खेप्नुपर्ने अवस्था किन आउँछ ? सरकारी संयन्त्रबीच आर्थिक हिसाब मिल्न नसक्दा नागरिकको उपचार किन रोकिएर बस्नुपर्छ ? अस्पतालमा महँगा स्वास्थ्य उपकरण थपिनु आफैंमा उपलब्धि हो । तर उपकरण खरीद गरेर अस्पताल आधुनिक भएको प्रमाणित हुन्छ कि त्यसलाई नियमित सञ्चालनमा ल्याएपछि मात्र ?
कुन उपकरण सञ्चालनमा छन ? कुन बिग्रिएको छ ? कसको मरम्मत आवश्यक छ ? कति उपकरण प्रयोगविहीन छन् ? कति उपकरण सञ्चालन गर्न प्राविधिक जनशक्ति छैन ? यी प्रश्नहरूको स्पष्ट उत्तर सर्वसाधारणले पाउनुपर्दैन ?
कुनै उपकरण खरीद भएपछि लामो समयसम्म सञ्चालनमा नआउने, सञ्चालनमा आएपछि नियमित मरम्मत नहुने वा प्राविधिक जनशक्ति अभावमा थन्किने हो भने त्यसमा दोष उपकरणको होइन, योजना र व्यवस्थापनको हो । उपकरण खरीद गर्ने बजेट छुट्याउँदा त्यसको सञ्चालन खर्च, मरम्मतसम्भार, आवश्यक जनशक्ति र दीर्घकालीन व्यवस्थापनको योजना पनि सँगै बनाइन्छ कि बनाइँदैन ?
उपकरण किन्न बजेट छ भने त्यसलाई चलाउन जनशक्ति र मरम्मतका लागि बजेट किन हुँदैन ? अस्पतालको क्षमता शøयाको सङ्ख्याले निर्धारण हुँदैन । तर शय्या नै पर्याप्त छैन भने सेवा प्रभावकारी बनाउने आधार कमजोर हुन्छ । बहिरङ्ग सेवामा भीड, आकस्मिक सेवामा चाप, भर्नाका लागि शय्या अभाव । यस्तो अवस्थाले अस्पतालको भौतिक क्षमतामाथि प्रश्न उठाउँछ ।
यदि बिरामीको सङ्ख्या अस्पतालको क्षमताभन्दा धेरै छ भने नयाँ शय्या थप्ने योजना कहाँ छ ? भवन विस्तारको योजना छ भने जनशक्ति थप्ने योजना के छ ? भवन विस्तार भयो भने त्यसलाई सञ्चालन गर्ने चिकित्सक, नर्स, प्राविधिक र अन्य कर्मचारी कहाँबाट आउँछन् ? अस्पताल विस्तार भनेको भवन थप्नु हो कि त्यसलाई चलाउने सम्पूर्ण प्रणाली पनि विस्तार हुनु हो ?
नारायणी अस्पताललाई मधेसको प्रमुख सरकारी अस्पतालका रूपमा विकास गर्ने सोच छ भने त्यसको आधार नयाँ सेवा र नयाँ उपकरण मात्र हुन सक्दैन । प्रमुख अस्पताल बन्नका लागि पर्याप्त चिकित्सक, पर्याप्त नर्स, प्राविधिक जनशक्ति चाहिन्छ, पर्याप्त शय्या चाहिन्छ, औषधिको नियमित आपूति तथा उपकरण चल्ने अवस्था चाहिन्छ र मरम्मत सम्भारको स्थायी व्यवस्था चाहिन्छ ।
त्यसैले प्रश्न अस्पताललाई मात्र होइन, स्वास्थ्य क्षेत्रको नीति बनाउने र स्रोत व्यवस्थापन गर्ने सबै सम्बन्धित निकायतर्फ सोझिनुपर्छ । नयाँ सेवा घोषणा गर्दा त्यसको जनशक्ति कहाँ छ ? उपकरण खरीद गर्दा सञ्चालन योजना कहाँ छ ? स्वास्थ्य बीमा विस्तार गर्दा अस्पतालको क्षमता मूल्याङ्कन कहाँ छ ? बिरामीको सङ्ख्या बढ्दा शøया थप्ने योजना कहाँ छ ? पुरानो दरबन्दीले नयाँ जिम्मेवारी धान्न नसक्दा दरबन्दी पुनरवलोकन किन हुँदैन ? अस्पतालको बीमा बक्यौता समयमैं भुक्तानी नभएर सेवा प्रभावित हुन्छ भने त्यसको समाधानको जिम्मेवारी कसले लिने ? यी प्रश्नहरूको उत्तर खोज्नु सम्बन्धित निकायको आलोचना होइन । सार्वजनिक स्वास्थ्य सेवाप्रतिको नागरिकको अधिकार र राज्यको जिम्मेवारीबारे प्रश्न हो ।
नारायणी अस्पतालमा सेवा विस्तार हुनु आवश्यक छ । अझ धेरै सेवा चाहिन्छ । अझ आधुनिक उपकरण चाहिन्छ । अझ विशेषज्ञ चिकित्सक चाहिन्छ । तर त्यससँगै यो पनि आवश्यक छ—विस्तारित सेवाले धान्न सक्ने संरचना । किनभने अस्पतालमा उपकरण थपेर मात्र नागरिक स्वस्थ हुँदैन । भवन थपेर मात्र उपचार हुँदैन । सेवा घोषणा गरेर मात्र सेवा उपलब्ध हुँदैन । सेवा विस्तारको वास्तविक अर्थ तब हुन्छ, जब अस्पतालको ढोकामा पुगेको बिरामीले सेवा पाउन जनशक्ति, औषधी वा उपकरणको अभावका कारण फर्किनु न परोस् ।
सरोकारवाला निकायसँग अहिलेको टड्कारो प्रश्न यही हो— अस्पताललाई ठूलो बनाउने योजना छ, तर त्यसलाई धान्ने क्षमता कति बढाउने भन्ने योजना कहिले बन्छ ? यो प्रश्नको उत्तर सम्बन्धित सबै जिम्मेवार निकायबाट आउनुपर्छ ।
![]() |
| प्रतीक दैनिकमा प्रकाशित : २०८३-०६-१९ |
प्रतीक दैनिकमा पढ्न यहाँ क्लिक गर्नुहोस्: नारायणी अस्पताल : सेवा विस्तार कि समस्या विस्तार ?
