राजेश मिश्र
​
राजेश मिश्र
​

बुबाले फोन गर्नुभएन

राजेश मिश्र
राजेश मिश्र​ · पढाइ

बुबाले त्यो दिन छोरालाई फोन गर्न खोजेका थिए।​ मोबाइल हातमै थियो। छोराको नम्बर पनि आँखैअगाडि थियो। औँला ‘कल’को हरियो बटनसम्म पुगेर रोकियो।

‘अहिले काममा होला।’​ — बुबाले मोबाइल टेबलमाथि राखे।

केही बेरपछि फेरि उठाए —​ ‘सायद खाना खाँदै होला।’​ अनि फेरि राखे।

त्यसपछि आफैँ मुस्कुराए​​— ‘ठूलो मान्छे भइसक्यो। आफ्नो काम होला।’​ बुबाले फोन गरेनन्।

उता छोरा भने ​शहरको एउटा कार्यालयमा कम्प्युटरअगाडि बसेर काम गरिरहेको थियो।​ मोबाइल साइलेन्टमा थियो। दिउँसोको समयमा उसले एकपटक मोबाइल हेर्दा बुबाको नम्बर सम्झियो।

‘आज बुबालाई फोन गर्नुपर्छ।’

तर त्यही बेला अर्को फोन आयो। एउटा इमेलको जवाफ दिनुपर्ने भयो। त्यसपछि बैठक ​शुरु भयो। बैठक सकिँदा साँझ परिसकेको थियो।​ उसले मोबाइल निकाल्यो।​ बुबाको नम्बर खोल्यो।​ केही सेकेन्ड हेर्‍यो।

‘अब ढिला भइसक्यो होला’​- उसले पनि फोन गरेन।

घरमा आमा भान्सामा थिइन्। बुबा आँगनमा बसेर पुरानो रेडियो सुन्दै थिए।

आमाले सोधिन्, “आज ​छोराको फोन आएन?”

बुबाले सहज भएर भने, “काममा व्यस्त होला।”

आमाले फेरि केही भनिनन्।

राति खाना खाएपछि बुबा आफ्नो कोठामा गए। मोबाइल चार्जमा लगाए। छोराको फोटो केही बेर हेरे। फोटोमा छोरा हाँसिरहेको थियो।

बुबाले फोटो हेर्दै भने, “ठूलो मान्छे भइस् है बाबु​ !”

आमाले सुन्ने गरी भनेका थिएनन्। आफैँलाई मात्र सुनाएका थिए।

भोलिपल्ट बिहान छोराले फोन गर्‍यो।​ “बुबा, हिजो फोन गर्नुभएको थियो?”​ बुबा केही बेर चुप लागे।​ “थिएन नि।”

“मेरो मोबाइलमा मिस्ड कल देखिएको थियो।”

“त्यो त... हातले थिचिएछ होला।”

छोराले हाँस्दै भन्यो, “तपाईं पनि है​ !”​ बुबा पनि हाँसे।

तर त्यो मिस्ड कल दुर्घटनाले भएको थिएन।​ बुबाले राति सुत्नुअघि एकपटक फोन गर्न खोजेका थिए। कल लाग्नुअघि नै काटेका थिए।​ तर छोराले त्यो कुरा कहिल्यै थाहा पाएन।

केही दिनपछि बुबा बिरामी परे।​ छोराले फोनमा सोध्यो, “बुबा, डाक्टरलाई देखाउनुभयो?”

“देखाएँ।”

“के भन्नुभयो​ डाक्टरले ?”

“केही होइन। उमेर भयो नि, यस्तै हो।”

“म आउँ?”

बुबा केही क्षण चुप लागे।​ “काम छ भने नआइज। यहाँ आमा छिन्।”

“काम त छ बुबा... तर म आउँछु।”

“आवश्यक छैन।”​ बुबाले भने। फोन राखेपछि बुबा धेरै बेर मोबाइल हेरेर बसिरहे।

आमाले भनिन्, “किन आउन नदिएको​ ?”

बुबाले मुस्कुराउँदै भने, “उसको काम बिग्रिन्छ।”​ आमाले केही भनिनन्।

उता छोरा भने कार्यालयमा बसिरह्यो। कामका बीचमा उसको मन घरतिरै थियो।​ त्यो दिन पहिलो पटक उसलाई लाग्यो​—बुबाले आफूलाई कहिल्यै दुःख दिन चाहनुहुन्न।

त्यसपछि उसले एउटा कुरा सम्झियो।​ सानो हुँदा ऊ राति डराएर बुबालाई उठाउँथ्यो।

“बुबा, निद्रा लागेन।”

बुबाले कहिल्यै भनेनन्—‘मलाई पनि निद्रा लागेको छ।’

ऊ बिरामी हुँदा बुबाले रातभरि उसको सिरानीमा बसेर पानी खुवाएका थिए।

उसले कहिल्यै सोधेको थिएन—‘बुबा, तपाईंलाई निद्रा लागेन​ ?’

उसलाई स्कुल जान ढिला हुँदा बुबाले आफ्नो काम छाडेर साइकलमा पुर्‍याएका थिए।

उसले कहिल्यै सोधेको थिएन—‘बुबा, तपाईंको काम के भयो​ ?’

त्यो दिन छोराले कामबाट छुट्टी माग्यो।​ साँझको बस चढ्यो।​ घर पुग्दा बुबा आँगनमा बसेका थिए।​ छोराले केही नभनी बुबाको छेउमा बस्यो।

बुबाले सोधे, “अचानक कसरी आइपुगिस्​ ?”

छोराले मुस्कुराउँदै भन्यो, “बुबा, फोन गर्न मन लाग्यो।”

बुबाले उसको अनुहार हेरे।

“फोन त गर्न सक्थिस् नि।”

छोराले बुबाको हात समात्यो।

“फोनले नपुग्ने कुरा थियो बुबा।”

बुबाले केही बोलेनन्।​ केही बेर दुवै चुपचाप बसे।​ त्यो मौनतामा धेरै कुरा भइरहेका थिए।​ बुबाले छोरालाई केही मागेनन्।​ छोराले पनि कुनै वाचा गरेन।​ त्यो दिनदेखि उनीहरूबीच एउटा सानो नियम बन्यो।​ दिनमा कम्तीमा एकपटक फोन गर्ने।​ कहिलेकाहीँ दुई मिनेट मात्र कुरा हुन्थ्यो।

“खाना खायौ​ ?”

“खाएँ​ ।”

“काम कस्तो छ​ ?”

“ठीक छ​ ।”

“आमा कहाँ हुनुहुन्छ​ ?”

“भान्सामा​ ।”

“ल, पछि कुरा गरौँ​ ।”

यति नै​ ।​ तर त्यो दुई मिनेटमा उनीहरूबीच धेरै कुरा हुन्थे​ ।​ किनभने कहिलेकाहीँ मानिसलाई लामो कुराकानी होइन, ‘तिमीलाई सम्झिरहेको छु’ भन्ने अनुभूति मात्र चाहिन्छ​ ।​

बुबाले फोन गर्न छाडेका थिएनन्​ ।​ छोराले फोन गर्न ढिला गर्न छाडेको थियो​ ।​ र दुवैले बुझेका थिए—सम्बन्ध टुट्ने ठूलो कारण सधैँ झगडा हुँदैन​ ।​ कहिलेकाहीँ त केवल फोन नगरेको एउटा दिन पनि हुन्छ​ ।​ त्यसैले कसैको नम्बर मोबाइलमा छ भने मात्र सम्बन्ध जीवित हुँदैन​ ।

कहिलेकाहीँ त्यो नम्बर थिचेर भन्नुपर्छ—“बुबा, के गर्दै हुनुहुन्छ?”

किन​भने फोनको अर्को छेउमा बसेको मानिसले ​शायद यही आवाजको प्रतीक्षा गरिरहेको हुन सक्छ।
टिप्पणी लेख्नुहोस् गृहपृष्ठमा फर्कनुहोस्

कुल पाठक

लिंक कपी भयो